आज अन्तर्राष्ट्रिय महिला दिवस (International Women’s Day) हो र यस दिवसलाई हरेक वर्ष मार्च ८ मा मनाइन्छ। यसको सुरुवात १९०८ मा अमेरिकामा महिला कामदारहरूले श्रम अधिकार, समान तलब र मतदान अधिकारका लागि गरेको आन्दोलनबाट भएको मानिन्छ। १९१० मा कोपेनहेगनमा आयोजित समाजवादी अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मन समाजवादी नेतृ क्लारा जेट्किनले महिला दिवस मनाउने प्रस्ताव राखिन्। पहिलोपटक १९११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरल्यान्डमा महिला दिवस मनाइयो। १९७७ मा संयुक्त राष्ट्रसंघले मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा औपचारिक मान्यता दियो। यो दिवस महिला अधिकार, लैंगिक समानता र समाजमा महिलाको योगदानको सम्मानका लागि विश्वभर मनाइँदै‌ आइएको छ ।

‘नु: नरस्य वा धर्म आचारो अस्या‘ भन्ने संस्कृत शब्द विग्रहबाट नारी शब्दको उत्पत्ति भएको मानिन्छ। यसको वास्तविक अर्थ अन्धकारबाट उज्यालो, अज्ञानताबाट ज्ञान, असत्यबाट सत्य, जडबाट चेतनतर्फ परिलक्षित एउटा पुञ्जको नाम नारी हो भन्ने बुझिन्छ।

‘लेडिज फर्स्ट’ अर्थात् नारी पहिले हाम्रो वैदिक दर्शनले भनेको हो
हाम्रो दर्शनले नर या नारी दुवैलाई सम्मान र समताको दृष्टिकोण र भावनाले दृष्टिगोचर गरेको छ। त्यसैले हामी आफ्नो दर्शन र विचारमा महान र दिव्य बन्न सकौं। यसले हाम्रो आफ्नो मान्यताको उजागर गर्नेछ।

वेदले नारीको अधिकारलाई विशिष्टीकृत रूपमा व्याख्या गरेको छ। नारीले वेद पढ्नुहुँदैन भन्ने मान्यता र नकारात्मक सन्देश शास्त्रले कहीं पनि उल्लेख गरेको छैन। वेदका मन्त्रमा द्रष्टाहरू अर्थात् ऋषिकाहरू हुन्छन्। ऋषिका भनेका नारी ऋषि हुन्। त्यस्ता ऋषिकाहरू आत्रेयी, उभया, भारती, विद्वत्तमा (कालिदासकी पत्नी), विश्वसरा, गोदा, आंगिरसी, रोमसा, ब्रह्मवादिनी, मैत्रेयी, गार्गी, इन्द्रायणी, अपला जस्ता वैदिक नारी अर्थात् ऋषिकाहरू हाम्रो पौराणिक आख्यानका विभिन्न प्रसंगहरूमा अत्यधिक व्याख्या गरिन्छन्।

कालिका उपपुराण नारीको सम्मानका लागि बनेको पुराण हो। श्रीमद्देवीभागवत पुराणमा नारी शक्तिको विशेष स्थान रहेको छ। यसमा नवौं स्कन्धको पहिलो अध्यायमा पञ्च प्रकृति- दुर्गा, लक्ष्मी, सरस्वती, सावित्री र राधाको चर्चा गरिएको छ।

दुर्गा भनेको क्रिया, लक्ष्मी भनेको ऐश्वर्य, सरस्वती भनेको ज्ञान, सावित्री भनेको बुद्धि र राधा भनेको प्रेमको प्रतीक हो। क्रिया, ऐश्वर्य, ज्ञान, बुद्धि र प्रेम जसमा छ, त्यो संसारको सर्वशक्तिमान र सर्वसम्पन्नताले पूर्ण हुन्छ भनेर हाम्रो दर्शनले बताएको छ। त्यसैले श्रीमद्देवीभागवतमा नारीलाई विशेष स्थान दिइएको छ। नारीलाई पञ्चप्रकृतिको रूपमा मानिएको छ।

“यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवताः । यत्रैतास्तु न पूज्यन्ते, सर्वास्त्त्राफलाः क्रियाः॥” (मनुस्मृति ३.५६)
भावार्थ: यो श्लोकले समाजमा महिलाको महत्वलाई उजागर ग्छ। जहाँ महिलाहरूको सम्मान र पूजा गरिन्छ, त्यहाँ समृद्धि र दैवी आशीर्वाद प्राप्त हुन्छ। तर जहाँ महिलाहरूको अपमान वा बेवास्ता गरिन्छ, त्यहाँ सबै काम असफल र निष्फल हुन्छन्।

त्यसैले गार्गी नामकी एकजना प्रसिद्ध नारीले विद्वता अर्थात् विदुषीपनको एउटा नयाँ आयाम विकास गर्ने काम गर्नुभयो। प्रचलन नै छ-
नास्ति भार्या समोबन्धु, नास्ति भार्या समागति।

नास्ति भार्या समोलोके, सहायो धर्म संग्रहे।।

अर्थात् श्रीमतीजस्तो साथी, नारीजस्तो गति, नारीजस्तो लोकमा उन्नतिको आधार, नारीजस्तो धर्म अर्थात् आध्यात्मिक उन्नतिको आधार संसारमा कोही हुन सक्दैन।

षड्दर्शनले नारीहरूलाई प्राथमिकताका साथ सृष्टिको आधार र शक्तिको रूपमा वेद,उपनिषद् , महाभारत र रामायण एवम् श्रुति, स्मृतिहरूमा महिमागान अर्थात् अत्यधिक नै‌ सम्मान गरेको छ । किन्तु सनातन दर्शनशास्त्र र सामाजिक प्रणालीमा ठूलो खाडल अर्थात् ग्याप रहेको‌ देखिन्छ ।

यस्तो हुनुमा हाम्रो दर्शनशास्त्रहरू‌ व्यवहारिक‌ रूपमा सबैको‌ पहुँचमा नहुनु‌ र धर्मशास्त्री‌ वा प्रवचक‌हरूमा‌ आत्मबोध र जिम्मेवारीमा ह्रास आउँनु ,द्वेष,लोभ,मोह भावले‌ ग्रस्त भ‌ई आफू‌ अनुकूल सामाजिक मूल्य र मान्यतालाई स्थापित गर्नाले‌ हामीले‌ ‘सतीप्रथा’ र ‘महिनावारीमा पन्छिने‌’ जस्ता मुख्य कुप्रथाहरू‌ नदेखेको र नपढेको पनि हैन । त्यसैले पूर्वीय षड्दर्शन वा हिन्दू दर्शन र सामाजिक मान्यतामा गहिरो खाडल छ भन्ने‌ धारणा प्रस्तुत गरिएको‌ हो ।

अब के गर्न सकिन्छ त ?
पुर्वीय दर्शनलाई बुझेर प्रेरित हुने‌ र प्रेरणा दिने ।

पूर्वीय दर्शन गहिरो आध्यात्मिकता, नैतिकता र मानव अस्तित्वको खोजीमा केन्द्रित छ। वेद, उपनिषद्, भगवद्गीता जस्ता हिन्दू ग्रन्थहरू आत्मा, ब्रह्म, कर्म र मोक्षको अवधारणामा आधारित छन्। बौद्ध दर्शनले चार आर्यसत्य र अष्टाङ्गिक मार्गमार्फत दुःखको अन्त्य र निर्वाणको बाटो देखाउँछ। जैन दर्शन अहिंसा, अपरिग्रह र आत्मशुद्धिमा केन्द्रित छ। ताओवाद र कन्फ्युसियस दर्शनले प्रकृतिसँगको सामञ्जस्य, नैतिक अनुशासन र समाजप्रतिको दायित्वलाई जोड दिन्छन्। यी सबै धाराहरू आत्मबोध, सरलता र सार्वभौमिक सत्यको खोजलाई प्राथमिकता दिन्छन्।तर यहाँ हिन्दू दर्शनको सन्दर्भलाई मात्र चर्चा गरिनेछ ।

महिला सशक्तिकरणको चिन्तन पूर्वीय दर्शनमा गहिरो रूपमा देख्न सकिन्छ। वेद-उपनिषद्ले महिलालाई ज्ञान, शक्ति र सृजनाको प्रतीक मानेका छन् :-
सरस्वती (विद्या), दुर्गा (शक्ति) र लक्ष्मी (समृद्धि) यसको उदाहरण हुन्। गीता र बौद्ध दर्शनहरूले पनि आत्मबोध, समानता र कर्मयोगलाई प्राथमिकता दिएका छन्, जसले महिला र पुरुषबीचको विभेदलाई प्रश्रय दिदैँन। गार्गी, मैत्रेयी, बुद्धको अनुयायी विशाखाजस्ता पात्रहरू महिला सशक्तिकरणका सन्दर्भमा आदर्श पात्रको रूपमा देखिन्छन्।

अर्धनारीश्वर भनेर विशेषतः शिवशक्तिको महत्व दर्शाई शिव पुराणमा नारी विनाको शिवको अस्तित्व हुँदैन भनेर उल्लेख गरिएको छ। श्रीमद्भागवतको चतुर्थस्कन्धको छैटौं अध्यायमा एउटा श्लोक उल्लेख गरिएको छ-

जाने त्वामीशं विश्वस्य जगतो योनिबीजयो:।
शक्ते: शिवस्य च परं यत्तद् ब्रह्म निरन्तरम्।।

अर्थात् नारी विनाको शिवको अस्तित्व हुँदैन। शक्ति विना संसार चल्दैन। शक्ति भनेको दैवीशक्ति हो, त्यो नारी हो, त्यो प्रकृति हो। यस्तो वैदिक दर्शनलाई पश्चिमा विचार, परविचार ल्याएर हामीलाई बारम्बार आक्रमण गर्ने चलन छ। त्यसलाई विस्तारै हटाएर स्वधर्म, स्वसंस्कृति र स्वदर्शनमा रमाउने मान्यताको विकास गर्नुपर्दछ।

महिला सशक्तिकरण र षड्दर्शनका विदुषीहरू:
हिन्दू दर्शनशास्त्रमा महिलाहरू ज्ञान, तर्क, र आध्यात्मिकताको उत्कृष्ट प्रतीकका रूपमा स्थापित भेटिन्छन्। गार्गी वाचक्नवी, जसले याज्ञवल्क्यसँग ब्रह्मविद्या सम्बन्धी गहन तर्क गरेर आफ्नो बौद्धिक क्षमता प्रमाणित गरिन्, आज पनि महिला सशक्तिकरणको उदाहरण हुन्। मैत्रेयीले भौतिक सम्पत्तिभन्दा ज्ञान र मोक्षलाई प्राथमिकता दिई महिला चेतनाको गहन स्वरूप प्रस्तुत गरिन्। लोपामुद्रा, अरुन्धती, सावित्रीजस्ता विदुषीहरू नारीत्व र विद्वत्ताको उत्कृष्ट नमूना हुन्, जसले गृहस्थ धर्म निभाउँदै पनि उच्च आध्यात्मिक र बौद्धिक ऊँचाइ हासिल गरे।

तर, वैदिक दर्शनप्रति वितृष्णाको जालझेल तथा कुटखेलले गर्दा अहिलेका नारीहरूले यी आदर्शहरूबाट पर्याप्त प्रेरणा लिन सकेका छैनन्। आत्मनिर्भरता र आत्मबोधतर्फ अग्रसर हुने ठाउँमा, धेरैजसो महिला अझै आत्मशंका, समाजको परनिर्भर दृष्टिकोण र असमान अवसरले पछाडि परिरहेका छन्। सशक्त आवाज राख्नुपर्ने ठाउँमा मौनता देखिन्छ, तर्क र निर्णय क्षमतामा दृढता कम देखिन्छ। भौतिकता र बाह्य आकर्षणमा केन्द्रित सोचले आन्तरिक क्षमता र ज्ञानप्रतिको रुचिलाई ओझेलमा पारिरहेको छ।

यद्यपि, गार्गी र मैत्रेयीजस्ता विदुषीहरूले देखाएको मार्ग आज पनि महिलाहरूका लागि अझैपनि सान्दर्भिक छ। महिलाहरूले आफ्नो आत्मबल, बौद्धिक क्षमता र निर्णय गर्ने साहसलाई सशक्त बनाउन जरुरी छ। आत्मनिर्भरता, शिक्षा, तर्कशीलता र आन्तरिक सशक्तिकरणलाई आत्मसात् गर्दै आधुनिक समयका महिलाहरूले समाजको नेतृत्व लिन थप ऊर्जा मिल्न सक्छ ।जीवनमा विद्या, विवेक र आत्मबोधलाई प्राथमिकता दिँदै, उनीहरूले आफ्ना अधिकारका लागि संघर्ष गर्न, अवसर सिर्जना गर्न र समाजमा परिवर्तन ल्याउन सक्नुपर्छ। र हामी‌ पुरुषहरूले‌ पनि आत्मनिरीक्षण‌ गर्दै‌ हातेमालो गर्नु आजको आवश्यकता र जिम्मेवारी हो ।

यस महिला दिवसमा, हामीले आफ्ना कमीहरूलाई आत्मसमीक्षा गर्दै पूर्वीय विदुषीहरूको आदर्शलाई पछ्याउनु जरुरी छ। उनीहरूको जस्तै साहस, ज्ञान र धैर्यलाई अंगालेर, अहिलेका महिलाहरूले समाजमा नयां आयाम स्थापना गर्ने प्रेरणा लिन आवश्यक छ।

धर्म , लिङ्ग,शिक्षा, सम्पत्ति, राजनीतिक पहुँच,महिला आरक्षण(सुधार:समावेशी रूपमा प्रत्याभूत गर्न ) मा भ‌एको असमानतालाई प्रभावकारी रूपमा संयुक्त राष्ट्र सङ्गठनको महिला विरुद्ध सबै प्रकारका भेदभावको निवारणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि (CEDAW) – १९७९ सम्मिलित राष्ट्रिय कानूनहरूलाई‌ थप सुधार गर्दै कार्यन्वयन पक्षमा ध्यान दिनु‌ आवश्यक छ । यस लेखमा पूर्वीय षड्दर्शनको सन्दर्भ र विदुषीहरूबाट‌ प्रेरणा देखाएर महिलाहरूलाई आत्मजागृत‌ ,आत्मबल, बौद्धिक क्षमता र निर्णय गर्ने‌ सशक्त स्वतन्त्र क्षमतालाई अभिवृद्धि होस् र आत्मशंका, समाजप्रति परनिर्भर मान्यता, दृष्टिकोण तथा असमान अवसर विरुद्ध लड्न बोल्न सकून् ,बाह्य आकर्षणमा नभ‌एर आन्तरिक क्षमता र ज्ञानमा रुचि बढाएर प्रेरणा बनून् भनेर लेख्न खोजिएको हो । सोहि कारण कानूनी पक्षलाई समावेश गरिएकाे छैन ।

आत्मनिर्भरता,आत्मबोध र अध्यात्मको विकास हुदैँ‌ महिला सशक्तिकरण होस् भन्दै अन्तर्राष्ट्रिय महिला दिवसको हार्दिक शुभेच्छा प्रकट गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित खवर